हिज्जे प्रतियोगितामा क्र्यानबर्न ज्ञानज्योति पाठशाला विजयी

हाम्रो वर्णमालाद्वारा आयोजित हिज्जे प्रतियोगितामा क्र्यानबर्न ज्ञानज्योति पाठशाला विजयी बनेको छ। प्रतियोगितामा १२ नेपाली सामुदायिक विद्यालयका २२ समूहले सहभागिता जनाएका थिए। जसमध्ये, उत्कृष्ट प्रदर्शन गर्दै क्र्यानबर्न ज्ञानज्योति पाठशालाका कोसिश थापा, आरुषी खरेल, र कृति खरेलले च्याम्पियनको उपाधि जित्न सफल भएका हुन्।
त्यस्तै, हाम्रो कम्युनिटीको हाम्रो वर्णमालाका स्वर्णिम भण्डारी, जस्मिन मरासिनी, र सुलिना घिमिरे द्वितिय तथा हाम्रो नेपाली पाठशाला भर्मन्ट साउथका रोजा बासेल, अमेलिया सिबु श्रेष्ठ, र आरव पौडेल तृतिय घोषित भए। प्रथम हुने विद्यालय समूहले १ हजार डलर नगद, द्वितिय हुने समूहले ५ सय डलर तथा तृतिय हुने समूहले २५० डलर नगद पुरस्कार सहित ट्रफी प्राप्त गरेका छन् ।
गत १ जुन २०२५को दिन मेल्टन कम्युनिटी हलमा सम्पन्न प्रतियोगितालाई अजि फाइनान्सले मूख्य प्रायोजन गरेको थियो। संस्थाका अध्यक्ष प्रकाश अर्यालले नेपाली समुदायका बालबालिकालाई नेपाली भाषा र संस्कृतिप्रति अभिप्रेरित गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्दै उक्त उद्देश्य पूरा गर्न हातेमालो गर्ने विद्यालय, शिक्षक, विद्ध्यार्थी, प्रायोजक संस्था तथा समग्र नेपाली समुदायप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रम सफल पार्ननको लागि अजि फाइनान्स सँगै आइसीएस इन्टरनेशनल, ८८४८ फेमिली मार्ट, डेस्टिनी होम, ग्लोबल सिएसए, तिनकुने रेष्टुरेन्ट, जाभा एनर्जी, रोमिङ नेपाल, जीवन रसाइली ज्वेलरीले सहयोग गरेका थिए । नेपाली संघ भिक्टोरियाका अध्यक्ष डा. यकिन्द्र तिमिल्सिना, न्याभका संस्थापक अध्यक्ष डा. राजु अधिकारी, समाजसेवी राम कुमार श्रेष्ठ लगायतको विशेष उपस्थिती रहेको कार्यक्रमको सन्चालन हाम्रो कम्युनिटीका युवा संयोजक अनिश शर्मा गैरेले गरेका थिए ।
यसप्रकारको नेपाली भाषाको हिज्जे प्रतियोगिता अष्ट्रेलियामै पहिलो पटक नेपाली समुदायमा आयोजना भएको हो ।